२० वैशाख, नवलपरासी । मौलिक कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र, नेपाल, बर्दघाट २, चिसापानीले नगरस्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
बर्दघाट नगरपालिकाको संरक्षकत्वमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले दिवंगत प्रचण्ड बुढाथोकीलाई श्रद्धाञ्जली अर्पण गर्दै, उनको गीत संगीत र कलामार्फत जनचेतना फैलाउने कार्यमा पुर्याएको योगदानको सम्मान गरे। नगर प्रमुख श्रेष्ठले स्व। बुढाथोकीले राज्य तहका नेताहरुलाई समेत शिक्षित बनाएको स्मरण गर्दै, उनको नाममा स्थापित अध्ययन केन्द्रलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा नगर प्रमुखले बर्दघाट प्रज्ञा प्रतिष्ठानमार्फत नगरका प्रमुख व्यक्तित्वहरू र स्थानीय भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि भइरहेको प्रयासको जानकारी पनि दिए।
नगर सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले बर्दघाट नगरको समग्र विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए। उनले वडानं। २ को भौगोलिक अवस्था, सामाजिक उत्तरदायित्व र संस्थागत गतिविधिको दृष्टिले पृथक पहिचान बनाइसकेको बताए।
कार्यक्रमको अध्यक्षता संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले गरेका थिए, भने प्रमुख अतिथि नगर प्रमुख शम्भुलाल श्रेष्ठ थिए। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरी, वडा नं। २ का अध्यक्ष गणेशबहादुर क्षेत्री, चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुमबहादुर गुरुङ, हाम्रो सुपर साकोसका अध्यक्ष बिष्णु बराल, सयपत्री सामुदायिक वनका अध्यक्ष वासुदेव चौधरी लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष सिन्धु जलेसाले स्व। प्रचण्ड बुढाथोकीको व्यक्तित्व र कृतित्वका कम चर्चित पक्षहरूलाई उजागर गर्दै उनले स्वदेश तथा विदेशमा प्राप्त गरेका सम्मानको चर्चा पनि गरे।
कार्यक्रम सञ्चालन केन्द्रका सचिव प्रेम भुजेलले सञ्चालन गरेका थिए। यस अवसरमा नगरका विभिन्न वडाहरूबाट एकल गायन, नृत्य, लाखे नाच र पञ्चेबाजाको प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले सांस्कृतिक समृद्धिको वातावरणलाई प्रकट गरेको छ।