२० वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दा राजनीतिक प्रतिशोधको उपज भएको दाबी गरेकी छन्। कास्कीको रुपा गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त मुद्दामा कुनै कानुनी आधार नरहेको स्पष्ट पारिन्।
“म कानुनको विद्यार्थी हुँ, यो मुद्दामा दम छैन, टालटुल गरेर बनाइएको हो, रवि लामिछानेमाथि मुद्दा रास्वपाको आवाज दबाउनको प्रयास हो” गौतमको भनाइ छ। साथै, उनले न्यायालयले लामिछानेलाई निष्पक्ष न्याय दिने विश्वास व्यक्त गरिन्।
सांसद गौतमले सरकारमाथि रास्वपाले उठाएका भ्रष्टाचारसम्बन्धी विषयहरू दबाउने प्रयास भइरहेको आरोप पनि लगाइन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, वाइडबडी जहाज खरिद, गिरिबन्धु प्रकरणजस्ता भ्रष्टाचारका केसहरूमा छानबिन रोक्ने प्रयास भइरहेको उनको आरोप छ।