२० वैशाख, मकवानपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद जवजको मार्ग दर्शन र सिद्धान्तलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके मात्र गणतन्त्र र राष्ट्रियतालाई जीवन्त पार्न सकिने धारणा राखेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्री चन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको आज हेटौँडामा उद्घाटन गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकमा नयाँ सोच र चिन्तनका साथ जनतालाई सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण गर्न राजनीतिक दलहरूले समीक्षा गरेर अघि बढ्नुपर्ने चुनौती आएको उल्लेख गरिन्।
उनले जनताले केही दशकदेखि जनताको बहुदलीय जनवादलाई निर्वाचनको माध्यमबाट अनुमोदन गरिसकेकाले प्रमुख दलहरूले सत्ता प्राप्तिको प्रतिस्पर्धाको भन्दा जनताको समस्यालई पहिचान गरेर समाधानका लागि केन्द्रित हुँदै विकासका लागि राजनीति गर्न आह्वान गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले आगामी दिनमा जनताका मा पुगेर गरिब, विपन्न तथा अल्पसङ्ख्यक महिलाहरूको पाठेघरको उपचार गर्न तथा जवजको सैद्धान्तिक पक्षमाथि प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउन पनि जोड दिईन्।
उनले नेपाल कम्युनिष्ट पार्टी एमालेले विसं २०४७ मा घोषण गरिएको नेपालको संविधान, २०४७ लाई करिब २७ बुदाँको आलोचनात्मक समर्थन गरेको उल्लेख भए पनि त्यसको सार्थक रूपमा विसं २०६२/६३ को जनआन्दोलनबाट गणतान्त्रिक व्यवस्था ल्याउँदाको सफलताबाट प्राप्त भएको स्पष्ट पारिन् ।