२१ वैशाख ,काठमाडौँ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ करोडभन्दा बढी खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतभन्दा बढी नाफा आर्जन गरेको बताएको छ।
नाफा वृद्धि भएपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। प्रति शेयर २३ रुपैयाँ १० पैसाबाट बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको जनाएको हो।
कम्पनीको अघिल्लो वर्ष ४४ करोड ६१ लाख रुपैयाँ रहेको ब्याज आम्दानी चालू वर्षमा बढेर करिब ५४ करोड रुपैयाँ पुगेको बताइएको छ भने सञ्चालन नाफा २१ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष सञ्चालन नाफा १५ करोड ३२ लाख रुपैयाँ थियो।
चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब ६३ करोड रुपैयाँ रहेको बताइएको छ।