२१ वैशाख, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले उक्त जानकारी दिए ।
बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि संयुक्त राज्य अमेरिका जान बिदा स्वीकृत गर्ने निर्णय गरेको छ । उनको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएको कार्य गर्न सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथीमा र दुई जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई पोसाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म क्यानडामा आयोजना हुने ग्लोबल कन्फ्रेन्स फर अ कास्ट–फ्रि वरल्ड, २०२५ मा सहभागीका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, स्वास्थ्य बिमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुरा अस्पतालको आर्थिक वर्ष २०८१÷८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।