२२ वैशाख, काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमका योजनाहरू कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिए ।
जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रम प्रत्येक वर्ष आउने भए पनि कार्यान्वयन पक्ष नै महत्वपूर्ण रहेको बताए । उनले भने, “नीति धेरै आउँछन् तर कार्यान्वयन महत्वपूर्ण पक्ष हो । जुन नीति तथा कार्यक्रम आएको छ, त्यसका राम्रा पक्षलाई दृढताका साथ कार्यान्वयन गरेर सरकार अघि बढ्छ भन्ने आशा छ ।”
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले यथाशीघ्र पूर्वदेखि पश्चिमसम्म भएका सिँचाइ योजनाहरू व्यवस्थित गरी नेपाललाई अन्न भण्डारका रूपमा पुनर्जीवित गर्न सुझाव दिए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले समग्रमा कृषि, उद्योग, पर्यटन, रोजगारी, जडीबुटीलगायत प्रत्येक क्षेत्रमा ठोस कार्यक्रमहरू आउनुपर्नेमा प्रस्तुत नीति तथा कार्यक्रममा त्यो नदेखिएको बताए ।