पर्यटन/संस्कृति

‘नेपाल र भारत हिन्दू राष्ट्र कायम गरिनुपर्छ’

२२ वैशाख, जनकपुरधाम । धर्मचक्रवर्ती तुलसी पीठाधीश्वर पद्विभूषण जगद्गुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यजी महाराजले नेपाल र भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

जानकी नवमी अर्थात् सीता जयन्तीको पूर्वसन्ध्यामा आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चनापश्चात् पत्रकारसँग उनले हिन्दू धर्म तथा संस्कृतिको संरक्षणका लागि नेपाल(भारतलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए ।

उनले विश्वको बदलिँदो परिस्थितिमा धर्म परिर्वतन गराइरहेकाले यसमा सबै हिन्दू धर्मावलम्बी सचेत रहनुपर्ने बताए । स्वामी रामभद्राचार्यजी महाराजले नेपाल तथा भारतबीचको परापूर्वकालदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

यसअघि उनले महोत्तरीको जलेश्वरनाथ मन्दिर र लक्ष्मीनारायण मठमा पूजाअर्चना गरेको जानकी मन्दिरका सह—महन्थ रामरोशन दासले जानकारी दिए । सप्ताहव्यापी सीता जयन्ती मनाउने कार्यक्रमअन्तर्गत उनी आज यहाँ आएका हुन् ।