समाचार

सांसदहरुले गराए विविध विषयमा सरकारको ध्यानाकर्षण

२३ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषयबस्तुबारे सरकारको ध्यानार्षण गराएका छन् ।

बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गरे। सांसद अन्जनी श्रेष्ठले पेट्रोलको भाडा बढाउन एउटा निश्चित मापदण्ड बनाउन सरकारसँग माग गरे ।

सांसद अनिता देवीले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेको घटनाप्रति आपत्ति प्रकट गरिन् । सांसद अमनलाल मोदीले विराटनगरको चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नभएको तथा केशरीया र सिनिया खोलाका लागि बजेट छुट्याएर निर्माण नगर्दा विराटनगर डुबानमा पर्ने खतरा बढेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद अम्बरबहादुर थापाले नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रमले शिक्षामा राम्रो गर्न खोजीए पनि कार्यान्वयनको पाटो कमजोर देखिएको बताए । सांसद डा अमरेशकुमार सिंहले नेपालले छमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिए ।

सांसद अर्जुननरसिंह केसीले काठमाडौँ–नुवाकोट सदमुकाम जोडने बालाजु–नुवाकोट–काठमाडौँ सडकका लागि आवश्यक बजेट छुट्टयाउन सरकारको ध्यानाकर्षण गराए । सांसद आस्माकुमारी चौधरीले नेपालमा मनसुन सुरु भइसकेको भएकाले गृहमन्त्रालयले आवश्यक तयारी सुरु गरेकामा धन्यवाद दिए ।

सांसद ईश्वरबहादुर रिजालले देशभर बाँदर आतङ्कका कारण ठूलो धनजनको क्षति भएकाले त्यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद ईश्वरी घर्तीले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्ष बनाउने विषयमा बालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे ध्यान दिन सरकारसँग माग गरिन् ।

सांसद ईश्वरीदेवी न्यौपानेले टीकापुर घाट निर्माण कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराईन । सांसद उर्मिला माझीले सुदुरपश्चिम प्रदेशको दार्जुलामा तिङकर सडक बजेट अभावका कारण अधुरै रहेकाले आवश्यक बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

सांसद ऋषिकेश पोखरेलले मोरङका चारवटा पुल समयमै निर्माण गर्न माग गरे । सांसद एकनाथ ढकालले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्न आउँदो बजेटमै सम्बोधन गर्न माग गरे। सांसद गङ्गा कार्कीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै आवश्यक बजेट छुट्टयाउन सरकारसँग माग गरिन् ।

सांसद चित्रबहादुर केसीले २०६२÷६३ सालको आन्दोलनका क्रममा कालिकोटका कर्णबहादुर शाही घाइते भएको उल्लेख गर्दै हालसम्म पनि उनले उपचार खर्च नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।