समाचार

कुलमानलाई हटाउँदा केही मानिसहरूले मुटु नै फुटेको जस्तो गरे: सचिव भट्टराई 

२३ वैशाख, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार गठन प्रक्रिया वैधानिक भएको जिकिर गरेका छन्।  आज बसेको संसद् बैठकमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकार गलत बाटोबाट बनेको भन्ने प्रतिपक्षी दलहरूको भनाइलाई खण्डन गरेका हुन्। 

सचिव भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सिसाको घरमा बसेर अरूको घरमा ढुङ्गा नहान्न  सुझाव दिए। उनले संविधानको धारा ७६ अनुसार दाहालको नेतृत्वमा सरकार बन्दा वैधानिक हुने र सोही धारा अनुसार केपी ओलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक भयो? भन्दै  प्रश्न गरेका छन्। 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भन्दै आएको सरकार अप्राकृतिक र बिचौलियाले बनाइदिएको जस्ता भनाइलाई सांसद भट्टराईले खण्डन गरेका हुन्। उनले विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा केही मानिसहरूले मुटु नै फुटेको जस्तो गरेको टिप्पणी समेत गरे।