समाचार

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

२३ वैशाख, काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बद्रीनारायण धामको आज अवलोकन गरेपछि उनले सहयोग गर्र्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिनेछु,” उपप्रधानमन्त्री सिंहले भने ।

समाजका हरेक व्यक्तिले बद्रीनारायण धामको विकास र विस्तारमा लाग्नुपर्ने उनको भनाइ थियो । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उनले आग्रह गरे । समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो ।

धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।