ब्रेकिङ न्युज

विश्वविद्यालय: एजेन्डाविहीन विद्यार्थी राजनीति, औचित्यहीन स्ववियू

हिमालचन्द्र बराल/ “विश्वविद्यालय बाहुवलको उपयाेग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो ” यो भनाइ हो नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव विपी कोइरालाको । पछिल्लोपटक मुलुक भरका विभिन्न क्याम्पसहरुका स्ववियु निर्वाचनको क्रममा विद्यार्थी संगठनहरुबीच भएका झडपहरुले स्व काेइरालाको उक्त विचारको हुर्मत लिएको देखिन्छ । विचार र सिद्धान्तको चिन्तन मनन गरेर नवीनतम बहसको सिर्जनात्मक मैदान बन्नुपर्ने क्याम्पसहरु रेस्लिङ गर्ने रिङमा परिणत भएको भान हुन्छ।

ललितपुरको पाटन क्याम्पसमा चुनावको विषयलाई विद्यार्थीहरुबीच मारमुङ्ग्री चलेको भिडियो सामाजिक सञ्जालमा भाइरल देखिन्थ्यो । त्रिचन्द्र कलेजमा पनि पटकपटक निर्वाचनसम्बन्धि विवादलाई पटकपटक तालाबन्दीका घटना भए। हुँदाहुँदा रत्नराज्य क्याम्पसमा मध्यरातमा भएको तालाबन्दीसँगै स्थगित निर्वाचन सर्वदलीय सहमतिको स्ववियु कार्यसमिति गठनपश्चात् नेपाली काँग्रेस निकट भातृसंगठन नेविसंघको एउटा तप्का विरोधस्वरुप प्रशासन कार्यालय सहित क्याम्पसप्रमुखको कार्यालय तोडफोड गर्नेसम्मको हिंसात्मक गतिविधिमै उत्रियो।

सामान्यतया युवा भन्नासाथ युग वाहक अर्थात् युगलाई जुरुक्क काँधमा बोकेर अघि बढ्ने सामर्थ्य र चेतना भएको शक्तिको रुपमा अर्थ्याउने विश्वव्यापी मान्यता रहेको छ।तर माथिका दिग्मिगाउने परिदृश्यहरुले स्वयं विपी कोइरालाको माथि उल्लिखित उद्धरणको उपहास मात्रै होइन, युवा विद्यार्थीको मर्म र अर्थलाई समेत गिज्याइरहेका छन्। यति भन्दै गर्दा पछिल्लो दशकमा आफ्नो ऐतिहासिक ओज र साखमा भयावह स्खलन निम्त्याइरहेका विद्यार्थी संगठनहरुका क्रियाकलापहरुकारण स्ववियुको औचित्य र विद्यार्थी राजनीतिको महत्तामाथि नै संगीन सवालहरु सतहमा आएका छन्। यी तमाम प्रश्नहरुप्रतिको इमानदारीपूर्ण जवाफदेहीताले नै नेपाली विद्यार्थी राजनीतिको भविष्य निर्धारण गर्न निश्चित छ।

विश्व इतिहास पल्टाएर हेर्ने हो भने संसारका अधिकांश क्रान्ति ,आन्दोलन र परिवर्तनका श्रृङखलाहरुमा युवाशक्तिको भूमिका महत्त्वपूर्ण र निर्णायक साबित भएको छ चाहे त्यो फ्रान्सेली क्रान्ति होस् , रुसी क्रान्ति, भारतीय स्वतन्त्रता आन्दोलन अथवा अमेरिकी नागरिक अधिकार आन्दोलन नै किन नहोस् ,पछिल्लोपटक भएका अरब स्प्रिङ, हङकङको अम्ब्रेला मुभमेन्ट र बंगलादेशको विद्यार्थी विद्रोहका भएको सत्तापलटका घटनाहरु युवा विद्यार्थीहरुको अप्रतिम जोश, अदम्य साहस र नवीन सोचले मात्रै परिवर्तन सम्भव हुन्छ भन्ने दसीप्रमाण हुन्। नेपालकै सन्दर्भमा पनि निरंकुश राणाशासन विरुद्धको विद्रोह ,सातसालको क्रान्ति, २०३६ सालको जनमतसंग्रह देखि लिएर २०४६ सालको प्रथम जनआन्दोलन र ६२/६३को दोस्रो जनआन्दोलनसम्म युवा विद्यार्थीहरुको परिवर्तनको हुटहुटी, अभूतपूर्व बलिदान र नवीनतम चिन्तनका परिणाम हुन् भन्ने आफैँमा ऐतिहासिक तथ्य हो।पछिल्लो दशकमा नेपाली विद्यार्थी राजनीतिमा हावी शक्तिको पूजा गर्ने प्रवृत्ति, चरम आन्तरिक गुटबन्दी र अमूक नेता र दलको हनुमानगिरी गर्ने रबैयाले विद्यार्थी संगठनहरुको गौरवशाली इतिहासलाई बदनाम गर्ने धृष्टता गरेको देखिन्छ।

यस्तोमा प्रश्न उठ्छ- के विद्यार्थी संगठनहरु एजेन्डाविहीन बनेका हुन्? के विश्वविद्यालय र क्याम्पसहरुमा गरिनुपर्ने सुधार र परिवर्तनका मुद्दाहरु समाप्त भएका हुन्? विद्यार्थी हकहितकालागि उठाउनुपर्ने आवाज र संबोधन गर्नुपर्ने समस्याहरु साराका सारा शून्यमा झरेको अवस्था हो ? उठान गर्नुपर्ने मुद्दा र बहस गर्नुपर्ने एजेन्डाहरु नभएर नै नेपालको विद्यार्थी राजनीति शक्तिप्रदर्शनको मल्लयुद्धमा होमिएको हो त? अहिलेको सन्दर्भमा यी र यस्ता गम्भीर सवालहरुले सटीक र इमानदार जवाफको माग गरिरहेकाछन् ।

वर्तमान नेपालको शिक्षा प्रणाली र विश्वविद्यालय र क्याम्पसका शैक्षिक गतिविधि तथा त्यसले उत्पादन गरेको जनशक्तिको विदेश पलायनको म्याराथन दौड हेर्दा प्रष्ट हुन्छ कि नेपालको विश्वविद्यालय शिक्षित बेरोजगार उत्पादन गर्ने कारखानामा सीमित भएकोछ।विज्ञान र प्रविधिमा विश्वले मारेको फड्कोसँग तुलना गर्दा अझै पनि हामी बामे नै सर्ने प्रयास गर्दैछौं। परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कुनै काम लिएर जानुपर्दा पूरा दिन माया मारेर बस्नुपर्ने घन्टाैं लाइन बस्नुपर्ने सास्ती अझै ज्यूँकात्यूँ छ।विश्वविद्यालयका कर्मचारीको लापरबाहीका कारण भएका मार्कसिट लगायत कागजातपत्र सुधारलागि विद्यार्थीहरुले आफ्नो गोजी रित्याउने पर्ने रित उस्तै छ। यस्तो समस्या स्ववियू भएर थप राम्रो भयो भन्ने अवस्था भएका कुनै पनि कलेज दृष्टान्तका रूपमा पनि देखिँदैनन् । प्रशासनले विद्यार्थी विरोधी गतिविधि गर्दा पनि विद्यार्थीहरू राजनीतिका लागि राजनीति सिवाय विद्यार्थी हितमा कुनै पनि काम गरेको देखिन्न । 

व्यवसायिक र प्रविधि मैत्री गुणस्तरीय शिक्षा, समयानुकूल परिमार्जनसहित रोजगारमुखी पाठ्यक्रम निर्माण र विश्वविद्यालयको शिक्षालाई रोजगारसँग जोड्ने नीति निर्माण जस्ता विषयहरु विद्यार्थी संगठनका प्राथमिकतामा पर्नु नपर्ने मुद्दाहरु हुन् र? निजी विद्यालय र कलेजमाहरु अभिभावकहरुको ढाड सेक्ने गरी चर्को शुल्क असुलीको धन्दा निर्बाध रुपमा चलिरहेको छ।यस्तोमा न्यायपूर्ण शुल्क निर्धारण गर्न पहलकदमी लिनुपर्ने जिम्मेवारी आखिर कसको हो ? मुलुकमा संघीयता लागू भइसके पनि कानूनमा लैंगिक विभेद निषेध गरे पनि मानसिकतमा पितृसत्ताले अकण्टक राज गरे जस्तै केन्द्रको दबदबा सर्वत्र कायम नै छ।दूरदराजका विद्यालय र क्याम्पसहरुमा शैक्षिक सुधार, विपन्नहरुमा शिक्षाको पहुँच विस्तार, शैक्षिक सामग्रीरुको उपलब्धता र प्रविधि मैत्री उन्नत पुस्तकालयको व्यवस्थापन लगायतका कार्यमा सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने र हरहालतमा जवाफदेही तुल्याउन विद्यार्थी संगठन र यसका नेताहरु अहोरात्र खटिनुपर्ने हो ।
भ्रष्टाचार नेपालको सन्दर्भमा हर क्षेत्रमा व्याप्त समृद्धि र सुशासनकोलागि अर्बुद जस्तै प्राणघातक रोग हो। विश्वविद्यालय र विभिन्न क्याम्पसहरुमा हुने आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार र अकर्मण्यताविरुद्ध जोडदार खबरदारी गर्ने र पारदर्शिताकालागि आवाज उठाउनु पर्ने सामाजिक उत्तरदायित्व पनि विद्यार्थी राजनीतिको अभिन्न मुद्दा बन्नसक्नुपर्छ। यसले राष्ट्रिय राजनीतिमा खुलेआम भइरहेको ब्रम्हलुटलाई पनि निशाना बनाउन टेवा पुर्याउँछ।

पछिल्लो समस मानसिक स्वास्थ्यको समस्या बडो जब्बर भएर फैलदो छ। बढ्दो बेरोजगारी र प्रमाणपत्र हासिल भएपछिको पनि अन्योलग्रस्त भविष्यले गर्दा विद्यार्थीहरुमा मानसिक तनाव र मानसिक स्वास्थ्यका समस्याहरु तीव्रतर छ।यस्तो समस्यालाई समयमै सम्बोधन नगरे भावी दिनमा कालकूट विषजस्तो फैलिएर सिंगो समाजलाई आक्रान्त बनाउनेछ। तसर्थ प्रत्येक क्याम्पसहरुमा सम्भव भएसम्म मनोसामाजिक परामर्श तथा तालिमहरु आयोजना गर्नु अत्यावश्यक छ जुन स्ववियु हाँक्छु भन्नेहरुको एजेन्डा सूचीमा पर्नुपर्ने हो। वैज्ञानिक र व्यवहारिक शैक्षिक क्यालेन्डर बनाउने तथा कार्यान्वयन गर्न समन्वय गर्ने, सम्बन्धित क्याम्पसहरुको आवश्यकता र अवस्थितिअनुसारको मागहरुको उठान गर्ने तथा राष्ट्रिय सरोकारका मुद्दाहरुमा राजनीतिक आस्थाका आधारमा विभाजित नभएर ऐक्यबद्ध हुने जस्ता कार्यहरुमा केन्द्रित हुनुपर्ने जस्ता जायज अपेक्षाहरु नेपालको विद्यार्थी राजनीति र यसका संगठनहरुसँग आम विद्यार्थीहरुले राखेकाछन्। विश्वविद्यालय र क्याम्पसहरुलाई फगत प्रमाणपत्र हासिल गरेर रोजगारीको खोजीका लागि युरोप अमेरिकातिर पखेटा हाल्ने थलो होइन व्यवसायिक शिक्षा ,प्राविधिक सीप,सैद्धान्तिक दक्षता र उद्यमशीलता विकास गर्न भिजन प्रदान गर्ने अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्न विद्यार्थी राजनीति गर्छौं भन्ने विद्यार्थी संगठन र निर्वाचित हुने स्ववियुले अहं भूमिका निर्वाह गर्न सक्छन् ।

परन्तु क्याम्पसहरुमा हुने राजनीतिक खेल र दृश्यहरुले फरक कहानी ओकल्छन्। नेपाली समाजको भविष्य र विशेषगरी राजनीतिलाई लिएर व्याप्त चरम नैराश्य,उदासीनता र वितृष्णालाई चिर्न आशा,ऊर्जा र चेतनाको पुञ्ज मानिने युवापंक्ति,अझ त्यसको अग्रमोर्चा सम्हाल्छौं भने विद्यार्थी नेतृत्वले विवेकपूर्ण र समयसापेक्ष कदम चाल्नुपर्ने हो।मूल राजनीतिक नेतृत्वमा देखिएको साम दाम दण्ड भेदको प्रयोग गरेर हरहालतमा चुनाव जित्नुपर्छ र सत्ताशक्तिको तर मार्नुपर्छ भन्ने प्रवृत्ति त्यसका भातृसंगठन र तल्लो तहसम्म देखिनु दुर्भाग्यपूर्ण छ।राजनीतिक दल ,तिनको नेतृत्वल गरेका गलत कदमहरुको भण्डाफोर गरेर सकारात्मक सन्देश प्रवाहखातिर हस्तक्षेपकारी भूमिकासहित लोकतान्त्रिक मूल्य मान्यता र प्रणालीलाई सुदृढ गर्न लागिपर्नुपर्ने विद्यार्थी नेतृत्व कहिले अरिङ्गाल समूह ,कहिले साइबर सेनाको आवरणमा तिनीहरुकै राजनीतिक स्वार्थसिद्धिको मतियार बनेको दृश्य वास्तवमै निराशाजनक छ।
नवीन चिन्तन, नवप्रवर्तनकारी योजना र समयसापेक्ष एजेन्डासहित विद्यार्थीहरुमा आफूलाई प्रस्तुत गरेर निष्पक्ष र स्वतन्त्र प्रतिस्पर्धामार्फत निर्वाचित हुने र पराजित भएमा हारलाई स्वभाविक रुपमा स्वीकार्ने उन्नत लोकतान्त्रिक संस्कार हो । तर विद्यार्थी संगठनहरुमा विद्यार्थीहरु समक्ष नाम मुख नदेखाउने,चनावका बेला भोटकालागि एजेन्डाविहीन रुपमा धुनुष्टङकार नमस्कार गर्ने तर आफू हार्ने जस्तो सूँइको पाए तालाबन्दी गर्ने अराजकताले विद्यमान राजनीतिबाट असन्तुष्ट भएकाहरुलाई देशको भविष्य भनिएका विद्यार्थीहरुबाट सन्तोषको सास फेर्ने ठाउँ त देखिएन ।

लोकतान्त्रिक प्रणालीको विकास र लोकतान्त्रिक संस्कारको अभ्यास नै कुनै पनि सभ्य समाजको परिचायक हो तर त्यसको धज्जी उडाउन गएको स्ववियु निर्वाचनमा विद्यार्थी नेताहरूले कुनै कसर बाँकी राखेनन्। विद्यार्थी नेतृत्वले दलगत स्वार्थ परिपूर्तिको खेतालो हुन इन्कार गर्ने हिम्मत गर्नुपर्छ।कुनै पनि दलको कठपुतली बनेर आफूलाई पनि त्यही प्रवृत्तिको नवसंस्करणमा रुपान्तरण गर्नुको साटो समयको नाडी छामेर विवेक,न्याय र सत्यलाई राजनीतिको इन्जिन बनाउँदै विद्यार्थीको स्वतन्त्र हैसियतमा शैक्षिक नीतिगत बहस, योजना निर्माण र दबाब सिर्जनामा केन्द्रिकृत गर्नुपर्छ। स्ववियु निर्वाचन र त्यसको जितलाई फगत आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने सिढी बनाउने र न्यूनतम राजनीतिक संस्कारलाई लात मार्दै विद्यार्थी राजनीतिको मूलभूत उद्देश्यबाट विचलित भएर अमूक दल र नेताको पथभ्रष्टतामाथि आँखा चिम्लेर उल्टै तिनको आदेश तामेली गर्ने ताबेदार बन्ने हो भने विद्यार्थी नेतृत्वले पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थी राजनीतिलाई विश्वविद्यालयमा निषेध गरिनुपर्छ भन्ने मागमा आफ्नै हिंसात्मक र बर्बर गतिविधिमार्फत ठप्पा मात्रै लगाउने छैनन, विद्यार्थी राजनीतिले आम विद्यार्थीको भरोसा त गुमाउने त निश्चितप्रायः छ, त्यसमाथि थप विद्यार्थी संगठनहरुको दीर्घकालीन औचित्य समेत समाप्त हुनेछ। चेतना भया !