सूचना प्रविधि

सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी छ : मन्त्री गुरुङ

२३ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तर्क्रियामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गरुङले सरकारको ध्यान केन्द्रीत गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता भएको तर्क गरे ।

सम्पूर्ण सरोकारवालामाझ छलफल गरेर आमसञ्चार विधेयक ल्याइने जानकारी दिँदै मन्त्री गुरुङले आवश्यक सुझाव दिएर कानुन निर्माणमा सहयोग गर्न अनुरोध गरे । पत्रकारिताको गुणस्तरीयता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले पत्रकारलाई प्रशिक्षण दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको बताए ।

सञ्चारमन्त्री गुरुङले भने, “हामीलाई गुणस्तरीय पत्रकारिताको खाँचो छ । त्यसका लागि तालिम केन्द्र आवश्यक छ ।” उनले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शीता जरूरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने धारणा राखे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनुपर्ने भए पनि पत्रकारले यस हकलाई अझै नागरिकमुखी बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यावाची जस्तै भएकाले यसको महत्त्व उच्च रहँदै आएको बताए । उनले सञ्चार मन्त्रीलाई पत्रकार महासङ्घसँग सहकार्य गरेर नीति तथा सञ्चार योजना बनाउन अनुरोध गरे ।