२३ वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली सङ्घ एनआरएनएलाई आग्रह गरेका छन् । मन्त्री खड्काले आज ऊर्जा मन्त्रालयमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठसहितको टोलीलाई बधाई तथा शुभकामना दिँदै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
श्रेष्ठ वैशाख २० गते काठमाडौँमा भएको एनआरएनए महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रबाट मुलुकको विकास सम्भव भएकाले विश्वभर रहेका एनआरएनएलाई समेटेर नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एनआरएनएलाई एकताबद्ध बनाएर अगाडि बढाउन सुझावसमेत दिए।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनए तयार रहेको र त्यसका लागि आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । सरकारले राम्रो आयोजना दिए आफूहरू लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।