काठमाडौँ, २५ वैशाख। गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गर्नुमा अदालतको आदेश कार्यान्वयन गर्नको रहेको बताएका छन्। उनले अरु कुनै मनसाय नभएको भन्दै यो घटनाले भविष्यमा सजक हुनुपर्ने पाठ सिकाएको बताएका हुन्।
गृहमन्त्री लेखकले सम्मानित अदालतले गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेको प्रष्ट पारे। सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको र भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको उनको भनाइ छ।
उनले उक्त घटनाबाट संरक्ष चौधरी र उनको पार्टी साथै परिवारमा पर्न गएको पिडा प्रति दुःख व्यक्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना पार्टीका संरक्षक चौधरीलाई पक्राउ गरेर दुख दिएको भन्दै सरकारको जवाफ माग गरेको थियो। सो पार्टीले आफ़्ना नेता पक्राउबारे सरकारको चित्तबुझ्दो जवाफ नआए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।