२५ वैशाख, काठमाडौँ । मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ । नयाँ शृङ्खलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिए । कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिँदै तयार गरिएका ती नाटकहरू आगामी साउनदेखि एक वर्ष मञ्चन हने नाटकघरले जनाएको छ ।
“हामीले आफ्ना अग्रजबाट सिकेको सिकाइलाई नयाँपुस्तामा हस्तान्तरण गर्दैछौँ, त्यसैको एउटा प्रक्रिया पनि हो । हामीले घोषणा गरेको निर्देशकमा नयाँ पनि हुनुहुन्छ । छनोट भएका निर्देशकहरूबाट दर्शकले पारिवारिक, प्रयोगात्मक, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटक हेर्न पाउनुहुनेछ”, अध्यक्ष राईले भने ।
घोषणा गरिएका निर्देशकहरूमा मण्डला नाटकघरको आन्तरिक समूहबाट निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी छन् । यस्तै, आमन्त्रित निर्देशकहरूमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, सङ्गीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी छन् ।
अध्यक्ष राईले यसवर्ष अनुप बराल र किरण चाम्लिङ राईका नाटकहरू पनि मण्डलामा मञ्चन हुने जानकारी दिए । यसका साथै मण्डलाले टिकटको मूल्य पनि बढाएको छ । जसअनुसार नाटक मञ्चनको पहिलो साता विद्यार्थीका लागि ३०० रुपैयाँ र सामान्य दर्शकका लागि ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै, अन्तिम दुई हप्ताका लागि विद्यार्थीले ५०० रुपैयाँ र सामान्य दर्शकले १००० रुपैयाँ तिरेर नाटक हेर्न सक्नेछन् ।
नयाँ टिकट शुल्क निर्धारण गर्नुको कारणबारे अध्यक्ष राईले अन्तरराष्ट्रिय प्रचलन, नाटकघरको दिगोपन र दर्शकलाई सुरुमै नाटक हेर्न बानि बसाल्नु रहेको बताए ।
“हामीले झन्डै छ वर्षदेखि शुल्क बढाएका छैनौँ । यो भइरहेको मूल्यवृद्धिका कारण हो । यसले हामीलाई उक्त शुल्क बराबरको नाटक मञ्चन गर्नुपर्ने दायित्व पनि थपेको छ । हाम्रो आयस्रोत टिकटकै रकम भएकाले हामीले अझैँ मेहनत गर्नु जरुरी छ”, अध्यक्ष राईले स्पष्ट गरे ।
उक्त शृङ्खलाअन्तर्गत आगामी जेठदेखि सोमनाथ खनालको निर्देशनमा तयार हुँदैगरेको नाटक मञ्चन हुनेछ, जसमा अभिनेता सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, शुशाङ्क मैनाली लगायतले अभिनय गर्नेछन् । हाल उक्त नाटकको अभ्यास चलिरहेको छ ।