२५ वैशाख, काठमाडौं । नवीकरणीय ऊर्जामा लगानी गर्दै आएको अर्गा भगवती भेन्चर्स प्रा. लि. र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अर्गा भगवतीको १० मेगावाट क्षमताको सौर्य परियोजनालाई कम्पनी सूचिकरणसम्म पुर्याउने सम्पूर्ण संस्थागत परामर्श सेवाको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले लिनेछ।
कम्पनी सूचिकरणसँग सम्बन्धित सम्पूर्ण कार्यहरू कम्पनी पुनःसंरचना, नियामक निकायसँगको समन्वय, र सार्वजनिक निष्कासन प्रक्रियालाई कुमारी क्यापिटलले नेतृत्व गर्नेछ। सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो।
अर्घाखाँची जिल्लामा निर्माणाधीन सौर्य आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ। कम्पनीले छोटो समयमा नै परियोजना सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत आपूर्ति गर्ने र स्वच्छ वातावरणसँगै देशको आर्थिक समृद्धिमा योगदान गर्ने लक्ष्य लिएको छ।
हालै अर्गा भगवतीले परियोजनाको वित्तीय व्यवस्थापनका लागि प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत ऋण प्राप्त गरिसकेको छ।
यो सहकार्यले नविकरणीय ऊर्जाको क्षेत्रमा थप लगानीको वातावरण बनाउने र पूँजी बजारमा नवप्रवर्तनको सम्भावना बढाउने अपेक्षा गरिएको छ।