२६ वैशाख, काठमाडौँ। नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई पार्टीको शाधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको भन्दै विज्ञप्ति सार्वजनिक भएको छ। केन्द्रीय सदस्यद्वय अशोक सिंह विष्ट र अनुराग शाहले अध्यक्ष शेर्पा र अर्का केन्द्रीय सदस्य परोपकार अधिकारीलाई पार्टीको शाधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताएका हुन्।
शेर्पालाई नेपाल विद्यार्थी संघको आचरसंहिता २०८० को नियम ५, संसोधित विधान २०२७ को धारा २४ (२) तथा आचारसंहिता २०८१ नियम ५ (क) र (ग) नियम ७ को व्यवस्था बमोजिम कारबाही गरिएको भनिएको छ।
उनीहरुले शेर्पा र अधिकारीलाई कारबाही गरेको कुरा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा तथा नेपाल विद्यार्थी संघको केद्रीय कार्यालय अनामनगरलाई जानकारी गराएका छन्। संगठनको आचारसंहिता विपरित काम गरेको कारण अध्यक्ष शेर्पा र अधिकारीलाई कारबाही गरिएको भनिएको छ।
अध्यक्ष शेर्पाले सगठनको आचारसंहिता विपरित आर्थिक प्रलोभनमा टिकट बाँडेको र स्ववियु निर्वाचनमा पैसाको चलखेल गरेर दाङको महेन्द्र बहुमुखी क्याम्पस र धादिङको आदर्श क्याम्पस, गजुरीमा विभिन्न स्वार्थ समूहसँग मिलेर क्याम्पसको स्ववियु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीलाई बुझाएको जस्ता आरोप लगाइएको छ। जारी विज्ञप्तिमा शेर्पाले जयनेपाल क्रिकेटको नाममा आर्थिक घोटाला गरे पनि भनिएको छ।
त्रिवि क्याम्पसमा अध्यक्षलाई जिताउन तथा सचिव र कोषाध्यक्ष जिताउन शेर्पाले अभियान नै संचालन गरेको अर्को आरोप लगाइएको छ।
नेबिसंघ भित्रको आन्तरिक विवादका कारण एक समुहले अर्को समुहलाई कारबाही गर्दै आएका छन्। यस अघि पनि यही समुहलले अध्यक्ष शेर्पा र केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक अधिकारीलाई कारबाही गर्न निवेदन दिएका थिए। हिजो मात्रै अध्यक्ष शेर्पाले केन्द्रीय सदस्यद्वय विष्ट र शाहलाई कारबाही गरेका थिए।