२६ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सासंदहरूले कृषि–मलखाद तथा बीउबिजनको आपूर्ति तथा वितरण व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरे ।
उनीहरूले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका निकायहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने, पुँजीगत खर्च ४० प्रतिशतभन्दा बढी हुननसक्दा राजस्व सङ्कलन र रोजगारी सिर्जनमा समस्या आएकाले पुँजीगत बजेट वृद्धि गरी कार्यान्वयनमा जोड दिनुपर्ने र जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे।
बैठकमा सांसद सुरेन्द्रराज आचार्यले “वर्षायाम सुरु हुँदैछ, किसानलाई आवश्यक मलखाद तथा बीउबिजन जोहो गर्न धौधौ छ, गत वर्ष पनि मलको अभावले किसान मर्कामा परका थिए, मलको वितरण प्रणाली नमिल्दा विचौलियाले कालोबजारी गर्दा किसानलाई थप पीडाको महसुस भएको थियो, भारत सिमाना नजिक रहेका किसानले लुकीछिपी मल नल्याए खेती नै गर्न पाउँदैन, त्यसतर्फ सरकारको तत्काल ध्यान जान जरुरी छ” भने ।
उनले कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा शुद्ध पिउने पानीको अभाव रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा निर्माणाधीन पानी ट्याङ्कीहरु बजेट अभावका कारण सञ्चालनमा आउन नसकेकाले आवश्यक बजेट व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गरे ।
सांसद सूर्यप्रसाद ढकालले भने, “१५ मिनेटको बाटो एक घण्टा लाग्छ, काठमाडौँ उपत्यकाको जाम कम गर्ने उपाय र विधि के हुन सक्छ, चार हजारभन्दा बढी निवेदन सिटिइभिटीमा दर्ता भएको १३ वर्ष नाघिसक्योे, हामीलाई अनुमति दिनुहोस्, कर तिर्छौं, रोजगारी दिन्छौँ, विद्यार्थी पढाउँछौँ, सरकारले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क पढाउँछौँभन्दा पनि किन अनुमति दिन सक्दैनौँ, समस्या कहाँ हो, त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”
बैठकमा सांसद सुनिता बराल, सुशीला श्रीपाली ठकुरी, सूर्यकुमारी श्रेष्ठलगायतका सदस्यले भाग लिएका थिए।