२६ वैशाख, काठमाडौँ। वरिष्ठ कानुन व्यवसायी तथा अधिवक्ता विशम्भर पराजुलीले देशमा राजनीतिक थिति नमिलेरअस्थिरता कायम भएको बताएका छन्। उनले देशका राजनीतिज्ञहरु राष्ट्रिय थितिबाट विचलित भएका कारण देश अस्थिरतामा गएको बताएका हुन्।
आज शुक्रवार सुर्यखबरसँग कुरा गर्दै उनले राजनीतिज्ञहरु राजनीतिबाट विचलित भएको र स्वार्थमा लागेको आरोप लगाउदै भने,’राष्ट्रिय नीतिलाई मुलधारमा राखेर राजनीति गर्नु पर्नेमा नेपालका राजनेताहरुले त्यसो नगरेका कारण देश अस्थिरतामा गयो,’। राष्ट्रिय नीति अनुसार कुनै पनि राजनीतिक दल नचलेको उनको भनाइ छ। नेपाली राजनीति सही बाटो नहिडेका कारण देशमा राजनीतिक आर्थिक हिसाबले अस्थिरता बढ्दै गएको बताए ।
नेपाल जलस्रोतको क्षेत्रमा विश्वकै दोस्रो धनी देश भएपनि देशको राज्यसत्ता गलत तरीकाले संचालनको भएको कारण प्रयाप्त फाइदा लिन नसकेको धारणा राखे। जलस्रोत नीतिमा राज्य लाग्ने हो भने ठुलो फाइदा लिन सक्ने उनले दाबी गरे। छिमेकी राष्ट्र भारतसंगको पराराष्ट्र नीति अनुसार स्पष्ट ढंगले चिन र भारतलाई जलस्रोतमा लगानी गराउन सके नेपालले धेरै फाइदा लिने सक्ने उनले बताए। यो सबै वातावरण बनाउनको लागी सबै भन्दा पहिला देशमा राजनीतिक स्थिरता हुनु पर्नेमा उनको भनाइ छ ।
कानुनको जानकार भएको नाताले भर्खरै सर्वोच्च अदालतमा फर्जी पक्राउ पुर्जी काटेर नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी पक्राउको विषयलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा उनले एक जना कर्मचारीको सनकको भरमा घटेको उक्त घटनाले समग्र न्यायालयको बद्नाम गराएको टिप्पणी गरे। उनले कुनै राजनीतिक प्रतिसोधको आधारमा नभएर कर्मचारीको सनकको भरमा उक्त घटना घटेको जिकिर गरे। वरिष्ठ अधिवक्ता पराजुलीले सो घटनामा संलग्न व्यक्तीलाई राज्यले कडा कारबाही गर्नु पर्ने धारणा राखे।
उनले विचाराधीन मुद्दामा जथाभावी पत्र काट्ने अधिकार एकजना कर्मचारीलाई नभएको जानकारी दिए। सर्वोच्चमा उक्त घटना घट्नुमा राजनीतिक प्रतिसोध नभएर व्यक्तिगत प्रतिसोध हुन सक्ने उनले बताए।
अदालतको तर्फबाट भएको यस घटनाले राज्य र अदालतबीच नै द्वन्द निम्त्यायो नि ?भन्ने प्रश्नमा उनले राजनीति राष्ट्रिय नीति अनुसार सही ढंगले अघि बढ्न नसक्नुको परिणा भएको बताए। उनले यही अवस्था रहीरहे कहिले अदालत माथि प्रहार हुने कहिले संसद र संविधान माथि प्रहार भइरहने बताए। यो सबै समस्याको समाधान भनेको राजनीति सहि ढंगले संचालन हुनु रहेको उनको भनाइ छ।
देशमा आर्थिक प्रणाली संचालनको मुख्य भूमिका खेल्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन नसक्नु पनि राजनतिक नेताहरुको अकर्मण्यता भएको बताए। गभर्नरको कार्यकाल एक महिना बाकि छदै अर्को छनोट गरिसक्नु पर्नेभएता पनि राजनीतिको गलत अभ्यासका कारण यो परिस्थिति उत्पन्न भएको उनको भनाइ छ।
वरिष्ठ अधिवक्ता पराजुलीले विद्युत प्राधिकरणका तत्कालिन निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हटाउनु पनि गतल भएको बताए। देशलाई १८घण्टा लामो लोडसेडिंगको अन्धकारबाट उज्यालोमा ल्याउने ईमानदार मान्छेलाई हटाएर सरकारले गलत गरेको उनको भनाइ थियो।