ब्रेकिङ न्युज

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

२६ वैशाख, काठमाडौँ । नेपाल सरकारले आयोजना गर्न लागेको ऐतिहासिक ‘सगरमाथा संवाद’को पहिलो संस्करण अन्तिम तयारीको चरणमा पुगेको छ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको अध्यक्षतामा बिहीबार परराष्ट्र मन्त्रालयमा बसेको संवाद व्यवस्थापन समितिको बैठकमा सरकार पूर्ण तयारीमा रहेको जानकारी दिइएको हो।

मन्त्री डा. राणाले नेपालले पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताउँदै यसलाई वर्षेनी आयोजना गरिने स्थायी कूटनीतिक फोरमको रूपमा विकास गर्ने तयारी भइरहेको बताइन्। जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित संवाद आगामी जेठ २–४ ९मे १६–१८० मा काठमाडौँमा आयोजना हुँदैछ।

ूनेपालका हिमालहरू पग्लिंदै गएको र जलवायु परिवर्तनका कारण देशले गम्भीर क्षति व्यहोर्दै आएको अवस्थामा सगरमाथा संवादले जलवायु न्यायका पक्षमा नेपालको आवाज विश्वसामु बुलन्द बनाउनेछ,” मन्त्री राणाले भनिन्।

उनका अनुसार यो मञ्चमार्फत जलवायु संकटबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, अन्तर्राष्ट्रिय संस्था र विश्व नेताहरूलाई एउटै प्लेटफर्ममा ल्याइनेछ। यस संवादमा हालसम्म करिब दुई दर्जन देशका उच्चस्तरीय प्रतिनिधि र ५० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसंस्थाले सहभागिता जनाउने पक्का भइसकेको जानकारी दिइएको छ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि मन्त्रालयले तयारी तीव्र बनाएको जानकारी गराए। परराष्ट्र सचिव अमृतबहादुर राइले तयारी सम्बन्धी विस्तृत विवरण प्रस्तुत गरेका थिए।

परराष्ट्रमन्त्री राणाले यस्तो स्तरीय कार्यक्रम नेपालका लागि ठूलो अवसर भएको उल्लेख गर्दै सबै सरकारी निकाय, निजी क्षेत्र र विश्वभर रहेका नेपाली नियोगहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न निर्देशन दिएकी छिन्।

सगरमाथा संवाद अबको दिनमा जलवायु नेतृत्व र कूटनीतिक पहिचान स्थापित गर्ने नेपाल सरकारको दीर्घकालीन रणनीतिक कदमको रूपमा हेरिएको छ।