२६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले शिक्षा, निजामती र प्रहरीसम्बन्धी अतिआवश्यक विधेयकहरू जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिए । उनले भने, “वास्तविक किसानको हातमा अनुदान पुगोस्, उत्पादन र उत्पादनकत्व बढाउने र देशलाई आत्मनिर्भर बनाउने खालको बजेट बनाउन सरकारलाई मेरो सुझाव छ ।”
नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद निर्मला कोइरालाले देश समृद्ध बनाउँदै नेपाली जनतालाई सुखी बनाउन सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सरस्वती सुब्बाले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासको समस्यालाई सरकारले व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका सांसद विजुला रायमाझीले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रको आर्थिक अवस्था, स्रोतसाधन परिचालनको अवस्था र पुँजीअनुसार यर्थाथपरक रहेको टिप्पणी गरे । एमालेका सांसद हर्कमाया विश्वकर्माले सरकारले सजिलै लागू गर्न सकिने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । प्रतिनिधिसभाको आगामी बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।