खेलकुद

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई हरायो 

२७ वैशाख, काठमाडौँ। महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ। आज शनिवार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भएको हो। 

वर्षाका कारण खेल ५ ओभरमा झारिएको थियो । ५ ओभरमा ४२ रनको लक्ष्य पाएको नेपालले मात्रै एक विकेट गुमाएर ४ बलअघि नै पूरा गर्‍यो। 

नेपालको जितमा कविता कुँवर ११ बलमा १८ रन जोडेर रन आउट भइन्। सम्झना खड्काले १० बलमा १३ र कप्तान इन्दु बर्मा ५ बलमा ७ रन जोडेर नट आउट रहे। 

थाइल्यान्डको तरथाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले पनि एक विकेटको क्षतिमा ४१ रन बनाएको थियो। यसअघि शुक्रवार नेपाल र हङकङको खेल वर्षाका कारण प्रभावित भएको थियो।

२ खेलबाट ३ अंक जोडेको नेपाल शीर्षस्थानमा छ। अब नेपालले फेरि हङकङसँग मङ्गलवार र बहराइनसँग बिहीबार दोस्रो चरणमा खेल्ने छ। त्यसपछि शीर्षस्थानमा रहने टोली सुपर ३ मा पुग्नेछ। सुपर ३ बाट शीर्ष २ टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।