समाचार

नवीन सञ्चार माध्यमले गलत सूचना फैलाउने खतरा बढायो : परराष्ट्रमन्त्री राणा

२७ वैशाख, ललितपुर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताएकी छिन्।

शनिबार ललितपुरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आयोजित “लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट” उद्घाटन गर्दै उनले प्रविधिको तीव्र विकाससँगै सञ्चार माध्यममा व्यापक परिवर्तन आएको बताइन्। नवीन माध्यमको आगमनले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिइरहेकाले यस्ता प्रवृत्तिहरूले लोकतन्त्रको आधारशिलामा आघात पुर्‍याउने खतरा रहेको उनको भनाइ थियो।

“लोकतन्त्रमा बहस, आलोचना र भिन्न विचारको स्थान हुन्छ,” मन्त्री देउवाले भनिन्, “तर गलत सूचनाको दुरुपयोगले समाजमा भ्रम सिर्जना गर्छ। त्यसैले जिम्मेवार प्रेसको भूमिकालाई थप सशक्त बनाउन आवश्यक छ।”

उनले बहुलवादको पक्षमा उभिने स्वतन्त्र प्रेसले आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक समृद्धिको वातावरण निर्माणमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरिन्।