अन्तर्राष्ट्रिय

ईयू प्रमुखद्वारा युक्रेनमा बिना शर्त युद्धविरामको आह्वान

२७ वैशाख, बेल्जियम । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनमा बिना शर्त ३० दिनको युद्धविराम लागू गर्न आह्वान गर्दै अन्यथा रुसले थप कडा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्स मार्फत भने, “हामी ३० दिनको पूर्ण र बिना शर्त युद्धविराम प्रस्तावलाई समर्थन गर्दछौं ।”

यो भनाइ फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूले युक्रेनको भ्रमण गरी युद्धविरामका लागि रुसमाथि दबाब दिन आह्वान गरिरहेका बेला सार्वजनिक गरिएको हो ।

भोन डेर लेयनले भने,“रुससँग शक्ति भए पनि हामी उसमाथि कडा दबाब कायम राख्नेछौं । यदि युद्धविराम उल्लङ्घन भयो भने थप कडा प्रतिबन्ध लगाउन तयार छौं ।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन्। तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्धविराम असम्भव हुने चेतावनी दिएको छ ।

भोन डेर लेयनले थपे,“युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्तिको स्थापना युरोपको सुरक्षा तथा स्थायित्वका लागि अत्यन्त आवश्यक छ ।”