२७ वैशाख, काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन्।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज आयोजना गरेको राष्ट्रिय निकुञ्जसम्बन्धी नीतिगत समस्या तथा सुझावको मस्यौदा प्रतिवेदनमाथि सरोकार भएका निकायका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले भने, “मापदण्ड पालना नगर्दा अहिले देशभरि बाढीपहिरो, बेमौसमी अतिवर्षा, खडेरीलगायत प्राकृतिक विपद्बाट पीडित हुनुपरेको यथार्थ हामीसामु भएकाले मापदण्ड पालनाका लागि आग्रह गर्दछु ।”
उनले प्रकृतिको संरक्षण गरियो भने भावी पिँढीका लागि दिगो योजना निर्माण गर्न सहज हुने उल्लेख गर्दै भने, “हामीलाई वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने अतिआवश्यक हुन्छ, फेरि प्रविधिमा आएको परिवर्तनले मानिसलाई सुविधाभोगी बनाएको छ । तसर्थ पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्नुपर्ने आवश्क छ ।” ती सुविधाहरूको उपभोग गर्न विकास अनिवार्य हुने बताउँदै अध्यक्ष दाहालले मापदण्ड पालन गर्दै विकास निर्माणलाई तीव्रता दिनपर्नेमा जोड दिए ।
विकासको नाममा निम्तिने विनाश र संरक्षणलाई ठिक सन्तुलन मिलाउन सकिएन भने प्राकृतिक विपद्ले मुलुकलाई क्षतविक्षत् बनाउन सक्ने उनको भनाइ छ । “त्यसैले हामीले विकासका कार्य गर्दा विकासलाई दिगो र परिणाममुखी बनाएर संरक्षणसहितको विकासको ढाँचा बनाएर अघि बढ्नुपर्ने हुन्छ”, उनले भने ।
अध्यक्ष दाहालले संरक्षणको कुरा गर्दा निरपेक्ष रूपमा विकासका कामलाई अगाडि बढाउँदा उपयोग र विकाससहितको संरक्षणमा ध्यान जान जरुरी रहेको उल्लेख गरे । संरक्षणलाई मानव जाति, वन तथा वातावरण र वन्यजन्तु सबैको हित हुनेगरी अगाडि बढाउन जरुरी रहेकामा जोड दिए ।
“आज जलवायु परिवर्तनको भयावह प्रभाव हामीले भोगिरहेका छौँ । साथै विकासका नाममा काम गर्दा हामीले ती विषयलाई पनि बिर्सनु हुँदैन”, अध्यक्ष दाहालले भने । चुरेमा पहिरो र मेलम्चीको बाढी मात्रै नभई गत वर्ष असोजमा काठमाडौँ उपत्यकालगायतका विभिन्न क्षेत्रमा आएको बाढी र त्यसबाट हामीले भोगेका क्षतिलाई बिर्सेर विकासका नाममा प्राकृतिक सुन्दरता, वनजङ्गल र पहाडलाई कुरुप बनाउने गरी गतिविधि गरिरहे भविष्यमा त्योभन्दा ठूलाठूला विपद्को सामना गर्नुपर्ने उहाँले उल्लेख गरे ।
“हाम्रोजस्तो विकासोन्मुख देशमा वनजङ्ल, वन्यजन्तु र प्रकृतिको संरक्षण गर्ने नाममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डलाई आधार मानेर अतिआवश्यक विकास निर्माणका काममा दिगो नतिजा आउने गरी कार्यक्रम गर्नुपर्ने हुन्छ”, उनले भने । उनले अनिवार्य रूपमा गर्नुपर्ने पूर्वाधार निर्माणमा दिगो विकासका अवधारण कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।