२८ वैशाख, काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाइ प्रति आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले दाहाल नेतृत्वमा रहेको सरकारले भन्दा एमाले नेतृत्वको सरकारले उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आफ्नो कुण्ठा नपोख्न चेतावनी दिएका हुन्।
महासचिव पोखरेलले प्रश्न गर्दै लेखेका छन्,’प्रचण्ड जी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरूले तपाईँको बोलीमा तथ्य होइन कुण्ठा मात्र देखिन्छ। तपाई प्रधानमन्त्री हुँदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।’
माओवादी केन्द्रका अध्यक्ष दाहालले हिजो शनिवार पाँचथर पुगेर वर्तमान सरकार झरीमा रुझेको बिरालो जस्तो भएको भन्दै आलोचना गरेका थिए। उनले सरकारले नराम्रो जति सबै काम गरेको,राम्रो जति एउटा पनि नगरेको आरोप लगाए पछि महासचिव पोखरेलको यस्तो टिप्पणी आएको हो।
महासचिव पोखरेलले स्टाटसमा लेखेका छन्,’ वर्तमान सरकारका कारण बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ । कानुन निर्माणको कामले तीव्रता पाएको छ ।’
त्यस्तै उनले दाहाल नेतृत्वको सरकारले निर्माण व्यावसायिलाई दिन नसकेको भुक्तानी वर्तमान सरकारले दिएको दाबी गरे। उनले लेखेका छन्,’निर्माण व्यावसायिलाई काम वापतको तपाईँको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।’
उनले वर्तमान सरकारका यी नै उल्लेखनीय कामका कारण अध्यक्ष दाहाललाई छटपटी भएको आरोप लगाएका छन्। ‘उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’ भन्दै प्रश्न गरेका हुन्।
