ब्रेकिङ न्युज

हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका वा १०० भन्दा कम विद्यार्थी भएका विद्यालय गाभ्नुपर्छः काँग्रेस मुख्यसचिव पौडेल

२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धि गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गरेका हुन् ।

उनले तथ्य र तथ्याङ्क प्रस्तुत गर्दै सोही आधारमा देशको भौगोलिक स्थिति, शिक्षक—विद्यार्थीको अनुपातलाई दृष्टिगत गरेर हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका सामुदायिक विद्यालय गाभ्नुपर्ने बताए ।

सांसद् पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाइसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या प्रत्येक दिन घट्दो क्रममा रहेको बताए ।

उनले १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरूको संख्या १५ हजार ९६५ रहेको, १०० देखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ९ हजार ७०४ रहेको, ५०१ देखि १ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १ हजार ६३६ रहेको जानकारी दिए ।

उनले १ हजार १ देखि १ हजार ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ४५९ रहेको, १ हजार ५०१ देखि २ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १३६ रहेको र २ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १०० रहेको बताए ।