राजनीति

राजावादी आन्दोलनलाई निस्तेज पार्न वाइसिएललाई अध्यक्ष दाहालको निर्देशन 

२९ वैशाख, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले जेठ १५ गतेबाट गर्ने भनिएको आन्दोलनलाई निस्तेज पार्न पार्टीको युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग वाइसियललाई निर्देशन दिएका छन्।  आज सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न निर्देशन दिएका हुन्। 

सुनारको सय चोट लोहारको एको चोट भन्दै अध्यक्ष दाहालले चैत १५ गतेको समाजवादी मोर्चाको कार्यक्रमले राजावादीहरूको एउटा बेलुन फुटेको टिप्पणी गरे। उनले भने  ‘तथाकथित त्यस्ता आन्दोलनको गतिविधिलाई परास्त गर्न आम कर्णाली बासी जनसमुदाय र विशेष गरी वाइसियललाई अपिल गर्दछु।’ अध्यक्ष दाहालले  हरेक टोल बस्तीमा गएर प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्न  पनि आग्रह गरेका हुन्। 

अध्यक्ष दाहालले देशमा २४० वर्ष शासन गरेर देशलाई कङ्गाल बनाउने र हत्या बलात्कार जस्ता जघन्य अपराध गर्ने यिनै राजावादीहरू भए भन्दै आक्रोश पोखेका छन्। उनले राजदरबार हत्याकाण्डको छानबिन गर्ने कुरामा तत्कालीन राजाले चासो समेत नदिएको भन्दै कायरको संज्ञा दिँदै प्रतिकारमा उत्रन अपिल गरेका हुन्।