२९ वैशाख, नवलपुर। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन भएको बताएका छन्। आज सोमबार नवलपुरको मौलाकालीमा निर्मित इला होटलको समुद्घाटन कार्यक्रममा बोल्दै उनले त्यसैअनुसार सात वटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण सुरुवात गरेको बताएका हुन्।
अध्यक्ष ढकालले काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट होटल सञ्चालन गरिरहेको जानकारी दिए। उनले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइरहेको समेत बताए।
अध्यक्ष ढकालले भने,’यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ।’ उनले अघि भने,’ त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् ।’ ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम भइरहेको अध्यक्ष ढकालको भनाइ छ।
कार्यक्रममा बोल्दै ढकालले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको जिकिर गरे । नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन् घट्दोक्रममा रहेको उनको भनाइ छ।
ढकालले विदेशी पर्यटकहरू औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क रहेको जानकारी दिए।
सबै स्थानीय तहहरूले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरू बनाउन जरुरी रहेको बताए । उनले भने,’ म पुनः दोहोर्याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।’
उनले पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिने बताए। “पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ । ” अध्यक्ष ढकालले बताए।
ढकालले पर्यटकीय पूर्वाधारको विकासका लागी सरकारले लगानी बढाउनु पर्ने बताए । सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ भन्नेमा आफू पूर्ण विश्वास रहेको बताए।