राजनीति

व्यवस्था टिकाउन दुई दलको सहकार्यमा सरकार सञ्चालन जोडिएका हौँ : उपप्रधानमन्त्री सिंह

२९ वैशाख, नुवाकोट । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट समाजलाई रुपान्तरण गर्न सकिने बताएका छन् । रसुवाको कालिका–२ मा अवस्थित कालिका हिमालय माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै देशको विकास, रोजगारीको सृजना र आर्थिक समृद्धिका लागि शिक्षा मेरुदण्ड भएको बताए ।

“पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले प्राथमिकता दिँदै आइरहेको छ”, उनले भने, “आधुनिकता र प्रविधिको उपयोगलाई शिक्षामार्फत पूर्वाधार निर्माणमा जोड्न सक्नुपर्छ ।”

दुई ठूला दल मिलेर सरकार सञ्चालनपश्चात देश स्थिरतासहित समृद्धितर्फ अघि बढेको मन्त्री सिंहको दाबी छ । “विगतमा सरकार धेरै समय टिकेनन् । व्यवस्थाप्रति नै जनतामा नैराश्यता देखियो । जनताको अवस्था सुधार गर्न र व्यवस्था टिकाउन दुई ठूला दल मिलेर सरकार सञ्चालनमा जोडिएका छौँ । यसले निरन्तरता पाइरहन्छ”, उनले भने ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन आचार्यले शैक्षिक क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिए । हाल कृषि, प्रविधि आइटी, इञ्जिनियर, मेडिकल क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले अध्ययनको व्यवस्था मिलाउन उनले सरकार र समुदायको ध्यानाकर्षण गराए ।

स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष एंव कालिका गाँउपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रम र आवश्यकतानुसार बजेट उपलब्ध गराउँदै आएकाले स्थानीय सरकारको स्थापनापश्चात शिक्षामा सुधार भइरहेको जानकारी दिए ।

विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा चालु शैक्षिक सत्रमा ७०० बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ राधा पाण्डेले जानकारी दिए। कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्म विद्यालयको उन्नयनमा योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।