समाचार

सिमलटारी–सौतामारे–मच्छी सडकखण्ड अलपत्र

३० वैशाख, प्यूठान । ‘बुर्लुकबुर्लक उफ्रेर एक सेकेन्डमै प्यूठान, गुल्मी र अर्घाखाँची जिल्ला टेकेँ,’ वरिष्ठ पत्रकार भैरव रिसालले ‘रातो फूलबारी’ पुस्तकमा लेखिएको ‘एकै सेकेन्डमा तीन जिल्ला’ शीर्षकको नियात्रामा उल्लेख गरेका छन् । उनको नियात्रामा उल्लेख भएअनुसार प्यूठान, गुल्मी र अर्घाखाँची तीन जिल्ला जोडिएको पवित्र, सुन्दर र मन लोभ्याउने त्रिवेणीस्थल प्यूठानको सौतामारेको हो ।

हो, त्यही तीन जिल्लालाई जोड्ने प्यूठानको सौतामारे भएर जाने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मी–प्यूठान सडक खण्डको कामले गति लिन सकेको छैन । गुल्मीबाट प्यूठानको मच्छीसम्म पुग्ने मदन भण्डारी राजमार्गको काम धिमा गतिमा अघि बढेको छ । प्यूठानको कोसेढुङ्गाका रुपमा हेरिएको यस राजमार्गअन्तर्गत पर्ने सौतामारे–मच्छी सडक खण्डको काम द्रूत गतिमा नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मीको सिमलटारी हुँदै प्यूठानको सौतामारे–मच्चीमा काममा प्रगति भएको देखिँदैन । सडक निर्माणका लागि पहाड काटे पनि काम पूरा नभएर अलपत्र परेको छ । स्थानीयहरु घर अगाडि कालोपत्र सडक निर्माण हुने भएपछि जति खुसी देखिन्थे तर सडकको काम अगाडि नबढ्दा त्यतिकै दुःखी र आक्रोश रहेको देखिन्थ्यो ।

गुल्मीको सिमलटारीदेखि प्यूठानको सौतामारे–मच्छिसम्मको ३१।८ किलोमिटर रहेको छ । यसमा गुल्मीदेखि प्यूठानको सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा र सौतामारेदेखि मच्छीसम्म १५।८ किलोमिटर प्यूठानमा पर्दछ । २०७९ कात्तिकमा उक्त सडक बनाउने ठेक्का सम्झौता श्रेष्ठ सक्षम निर्माण जेभीले पाएको छ ।

श्रेष्ठ र सक्षम निर्माण कम्पनी जेभीले सडक निर्माण थालनी गरेयता पटकपटक भुक्तानी पाए पनि केही महिनादेखि काम बढाएको छैन । झिमरुक गाउँपालिका–१ को सौतामारे फेदीमा क्रसर, स्काभेटर, जेसिबीसम्म राखेको देखिन्छ । यसले गर्दा आगामी साउनमा सम्पन्न हुनैपर्ने सिमलटारी–सौतामारे–मच्छी सडक खण्ड पूरा नहुने देखिन्छ ।

सरकारले मदन भण्डारी राजमार्ग भित्री मधेश र चुरे क्षेत्रमा रहेका धरान, उदयपुरको गाईघाट, हेटौँडा, भरतपुर, पाल्पाको रिडी, गुल्मी तम्घास, प्यूठानको मच्छी, वाग्दुला र बिजुवार हुँदै दाङको घोराहीदेखि सुर्खेतसम्मका शहरलाई जोड्ने औद्योगिक करिडोरका रुपमा निर्माण गर्न थालिएको हो । यसअन्तर्गत प्यूठानमा सौतामारे–मच्छी–वाग्दुला–बिजुवार–चकचके–खुङग्रीसम्मको सडक विस्तार हुनेछ । अहिले पहिलो चरणमा सौतामारे–मच्छी सडक खण्ड बन्दैछ ।

यो राजमार्ग बनाउनुको उद्देश्य भित्री मधेश र चुरे क्षेत्रमा यातायात तथा त्यस क्षेत्रका खानीसम्म पहुँच पु¥याउँदै स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नु पनि रहेको हो । प्यूठानबाट निर्वाचित सांसद सूर्य थापाले ठेक्का सम्झौता भएर काम सुरु भए पनि सडकको काम अगाडि बढ्न नसकेको बताए। “ठेक्का लगाएर जुन गतिमा सडक निर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन,” उनले भने, “जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई पटक–पटक भनिरहेको छु ।”

सांसद थापाले सडकको काम निर्धारित समयमा सम्पन्न गराउनका लागि सडकका जिम्मेवारी व्यक्ति, निर्माण व्यवसायी डम्बर खड्कालाई पनि छलफल गराएको बताए । उनले सौतामारे–मच्छी सडक खण्ड नबन्दा अहिले सर्वसाधारण धुलो, धुवाँ र हिलोमा हिँड्न बाध्य भएको सुनाए । सांसद थापाले सडक निर्माण गर्नका लागि काठमाडौँस्थित मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालय र गुल्मीस्थित योजना कार्यालयमा पटकपटक सरोकारवालासँग छलफल गरे पनि छलफलअनुसार काम अगाडि बढन नसकेको बताउछन् ।

प्यूठानअन्तर्गत मदन भण्डारी राजमार्गको एनएचशून्यनाइनको रिडी–सुर्खेत सडक खण्डको रेखाङ्कन रिडी–तम्घास–सिमलटारी–सौतामारे–मच्छी–बिजुवार–चकचके–खुङग्री–लिवाङ–घर्तिगाउँ–सुखाओडार–पातीहाल्ने–थारमारे–बागमारे–शीतलपाटी–सल्यान खलङ्गा–कुभिण्डेदह–बालुवासङ्ग्रही–बोटेचौर–भेडाबारी–धुलियाविट–वीरेन्द्रनगर सुर्खेत कामय गरिएको छ ।

यसैगरी, अर्को रिडी–बलकोट–हङसपुर–प्यूठान, प्यूठान–सुर्खेत सडक खण्ड एनएचनाइन्टिनको रेखाङ्कन रिडी–बलकोट–सन्धिखर्क–गच्छागैरा–रतनमारे–गोखुङ्गा–वागदुला–देवीस्थान–लोहारपानी–घोराही–तुल्सीपुर–पुरन्धारा–बोटेचौर सुर्खेत कायम गर्ने उल्लेख छ । दुवै सडक प्यूठानमा परेको हुनाले ती सडक बनेको खण्डमा प्यूठानको यातायात क्षेत्रमा कोसेढुङ्गा साबित हुनेछ ।

यही वैशाख २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सांसद थापाले ज्ञापनपत्र बुझाएर मदन भण्डारी राजमार्गको सिमलटारी–सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम ढिलाइ भएकोप्रति ध्यानाकर्षण गराउँदै उक्त सडकखण्डको काम द्रूतगतिमा निर्माण गरिनुपर्ने माग राखे । ज्ञापनपत्रमा उनले गोखुङ्गा–बाग्दुला खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुपर्ने, सोही खण्डलाई बाग्दुला–बडहर–सारिबाङ हुँदै खैरा गाँजरीस्थित पक्की पुलसम्म झिमरुक नदीको बायाँतर्पmबाट विस्तृत आयोजना प्रतिवेदन डिपिआर गरी ठेक्का लगाएर लिङ्क रोड जोड्न अनुरोध प्रधानमन्त्री ओलीसमक्ष गरे ।

यस्तै,मच्छीबाट–पिँडाल्ने–छातीपाटा–राताटारी–कुटिचौर–दम्ती–बिजुवार–बेलुवासम्मको खण्डमा यसै राजमार्गलाई लिङ्करोडका रुपमा डिपिआर गरी ठेक्का लगाउनुपर्ने माग प्रधानमन्त्री ओलीसक्षम सांसद थापाले माग राखेका थिए।

गुल्मीस्थित योजना कार्यालयका सूचना अधिकारी हुमानाथ पौडेलका अनुसार रु एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार ९०० मा सडक निर्माणको सम्झौता भएको छ । झिमरुक–१ सौतामारेका वडाअध्यक्ष धुव्रराज खनालले राजमार्ग बनेपछि तीन जिल्लाका स्थानीयलाई सहज हुने बताउछन् । “अर्घाखाँचीको मलारानी गाउँपालिका र गुल्मीको मदाने, धुर्कोट र मालिकासहित तीनवटा पालिकालाई प्रदेश मुकाम आउजाउ गर्न यही बाटो भएर जान सजिलो हुन्छ”, उनले भने, “अहिले ती पालिकाका स्थानीयवासी केही काम पर्यो भने यही बाटो हुँदै भालुवाङ जाने गरेका छन् । सडक बनेपछि दुई घण्टामा प्रदेश मुकाम जान अर्घाखाँची र गुल्मीका स्थानीयलाई सजिलो हुनेछ ।”

वडाध्यक्ष खनालले सडक निर्माणको काम बीचमा अलपत्र पर्दा स्थानीयलाई हिँड्डुल गर्न पनि समस्या भएको छ । “झिमरुक–१ को वाङ्गेसम्म र झिमरुक–४ को स्वास्थ्य कार्यालयमुनिसम्म काट्ने काम भएको छ,” उनले भने, “राजमार्ग बनाउनका लागि दुईवटा स्काभेटर र तीनवटा जेसिबी त्यतिकै राखिएका छन् । काम भएको छैन । गुल्मीतिर एउटा जेसिवी लगाएर सडक निर्माणको काम भने गरिरहेको छ ।” उनका अनुसार झिमरुक गाउँपालिकाले सिमलटारी–सौतामारे–मच्छी सडक खण्डलाई वाग्दुलासम्म लैजाने माग भएको तर सुनुवाइ भएको पाइँदैन ।

झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले आउने साउनसम्ममा राजमार्गअन्तर्गतको सिमलटारी–सौतामारे–मच्छीको सडकखण्ड पूरा गर्ने भने तापनि निर्माण व्यवसायीले काम नै नगरेको बताए । “प्यूठान, गुल्मी, अर्घाखाँची र बागलुङका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने उक्त सडक अहिले काम अगाडि बढ्न नसकेर अलपत्र छ,” उनले भने, “प्रमुख जिल्ला अधिकारीसहित पटक–पटक हामीले सडक निर्माण चाँडै गर्नुप¥यो भनेर छलफल पनि ग¥यो । निर्माण कम्पनीले काम गर्छु भन्छ । तर गर्दैन ।”

उनले सडकको काम अलपत्र पार्दा केही व्यक्तिका घर, जग्गा, खेतबारी खण्डहर बनेको समेत बताए । “सडकको काम बीचमा त्यतिकै छाड्दा कसैका घर, बारी, खेत भासिएका छन्”, उनले भने, “दिनदिनै पालिकामा आएर क्षतिपूर्ति चाहियो भनेर स्थानीयले भनिरहेका छन् । निर्माण कम्पनीलाई क्षतिपूर्तिका लागि हामीले मागसमेत गरेका छौँ ।”

मदन भण्डारी राजमार्ग गुल्मी योजना कार्यालयका प्रमुख रमेश चौधरीले सम्झौताअनुसार निर्माण व्यवसायी काम नगरेको बताए । “निर्माण व्यवसायी आफू आर्थिक सङ्कटमा परेको हुनाले काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ । सार्वजनिक खरिद ऐनअनुसार ठेक्का हाल्दा र पाउँदा रामो स्थिति रहेको थियो,” योजना प्रमुख चौधरीले भने, “तर पछि कम्पनीको आर्थिक अवस्था नै डामाडोल रहेको छ, “ठेकेदार कम्पनीले आफू अर्थक सङ्कटमा रहेको भनेर काम गरिरहेको छैन ।”

उनले दुई महिनाअघि आफूहरुले काम गरेको सात करोड निर्माण व्यवसायी भुक्तानी गरेको बताउछन् । “ठेकेदारको भुक्तानी एक महिना ढिलो भए पनि केही दिनअघि मात्र हामीले रु सात करोड दियाँ । भुक्तानी नपाएपछि काम गर्ने मजदूर पनि विस्तारै आउन छाडेका थिए” उनले भने, “तर पछि भुक्तानी गरिसकेपछि काम गर्ला कि भनेको त आफ्नो व्यक्तिगत कारण देखाउँदै निर्माण व्यवसायी काम गरेको छैन ।” योजना प्रमुख चौधरीले भुक्तानी पाएपछि अलिअलि ग्राभेल मात्र झारेर काम गरेजस्तो मात्र गरेको बताए । उनले निर्माण व्यवसायी सडक समयमा नै सम्पन्न गर्नका लागि प्रत्यक्ष भेटेर र पत्र पठाएर तोकेता गरिरहेको समेत जानकारी दिए ।

काम अगाडि नबढाए ठेक्का रद्द

योजना प्रमुख चौधरीले सडक निर्माणको काम अगाडि नबढाएको हुनाले आफूहरुले काठमाडौँ स्थित मदन भण्डारी राजमार्गको निर्देशनालयमा सम्झौता रद्द गर्नेबारे छलफलसमेत गरेको बताउछन् । “हामीले ठेक्का रद्द गर्नेबारे छलफल पनि नगरेको होइन तर अर्को कुनै विकल्प अझै भेटिएको छैन,” उनले भने “यदि यही अवस्थामा काम अगाडि बढ्न सकेन भने ठेक्का रद्द गरेर अर्को विकल्पमा जानुपर्दछ ।”

उनका अनुसार आगामी साउनमा काम सम्पन्न गर्नुपर्ने भए पनि अहिले २५ प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले बाटोको छेउछाउ काट्ने र संरचना निर्माण गर्ने काम मात्र भएको छ । योजना प्रमुख चौधरीले बाटोको सतह मिलाउने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम अझै बाँकी रहेको बताउछन् । उक्त सडक खण्ड करिब सात मिटर चौडाइ र दुवैतर्फ नाली चारमिटरको हुने छ ।

गुल्मीको मदाने गाउँपालिका–७ का स्थानीय खिमबहादुर जिसीले दुई महिनादेखि सडक निर्माणको काम ठप्प हुँदा स्थानीयलाई सास्ती भएको बताउछन् । “राजमार्ग बन्ने भएपछि हामी खुसी भएका थियौँ । काम पनि भइरहेको थियो”, उनले भने, “सडक निर्माणको काम भएको छैन । सडक जताजतै भत्काएर छाडिएको छ । खेत रोप्न पनि गाह्रोे हुन्छ । हामी धेरै अप्ठ्यारोमा परेका छौँ ।” उनले सडकको काम नहुँदा वर्षायाममा आउजाउमा समेत समस्या हुने बताउछन् ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सम्पर्क गरी सडक बनाउन पहल गरिरहेको बताउछन् । “मेरो केही दिन निर्माण व्यवसायीसँग कुरा हुँदा तत्काल काम सुरु गर्ने र वर्षायाममा उक्त सडकखण्डमा गाडी चल्न सक्ने बनाउने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने । प्रमुख जिल्ला अधिकारी नेपालले मदन भण्डारी राजमार्गको मात्र नभई प्यूठान जिल्लाका अधिकांश आयोजनाका ठेक्का लगाएका तर कामै नगरी भागेका निर्माण व्यवसायीको खोजी गरिरहेको बताए ।