समाचार

अधिक प्रतिफल दिनेगरी स्रोत परिचालन गर्नुपर्ने छ : सांसद कार्की

३० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्ने बताएका छन्। साथै उनले सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले समावेशी, दिगो, प्रतिफल दिने र जनतालाई प्रत्यक्ष अनुभव गराउने बजेट आवश्यक भएको बताए । कृषिमा आत्मनिर्भरता विकास तथा रोजगारी सृजनामा बजेट केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

“सीमित स्रोतबाट कसरी अधिकतम प्रतिफल लिने भन्ने चुनौती छ । नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजना देशको माग हो ।”, उनले भने।

सांसद कार्कीले राजनीतिक अस्थिरता र नीतिगत अस्थिरतालाई आर्थिक विकासको प्रमुख बाधाका रुपमा चित्रण गर्दै स्थिर नीति नभएसम्म लगानी, कार्यान्वयन र प्रतिफल सुनिश्चित हुन नसक्ने बताए ।

मुलुकका तीन हजारभन्दा बढी हिमनदी तीव्र रूपमा पग्लिएर बाढीको जोखिम बढेको बताउँदै अनौपचारिक हिसाबले वार्षिक रु ८३ अर्ब भन्दा बढीको क्षति जलवायुजन्य विपद्बाट हुँदै आएको वास्तविकता सुनाए । जलवायु परिवर्तनका असर घटाउन ठोस पहल थाल्न उनले सरकारसँग आग्रह गरे ।