३० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा चर्चामा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा आज मंगलबार रिट निवेदन परेको छ। अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले पौडेल विरुद्ध रिट हालेका हुन्।
राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको उनीहरुको आरोप छ। नेपाल राष्ट्रबैंकको ऐनविपरीत कुनै पनि राजनीतिक पार्टीका सदस्यलाई गभर्नरमा नियुक्ति गर्न नमिल्ने प्रावधान रहेको तर उक्त नियम विपरित नियुक्त गर्न लागिएको भन्दै रिट परेको हो।
रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको उल्लेख गरिएको छ। यस अघि पनि गभर्नरको दौडमा रहेका डा. गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो।