समाचार

राष्ट्रियसभाका सांसदहरुले भने, “विकाससँग सांसदहरु अनिवार्य जोडिनुपर्छ”

३० वैशाख, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा भाग लिँदै सांसदहरुले विकाससँग सांसद जोडिनुपर्ने बताएका छन्

आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै उनीहरुले विकास गतिविधिसँग सांसदहरु जोडिनु पर्ने बताएका हुन्।

सांसद विष्णुकुमारी सापकोटाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सकारात्मक हुँदै खाद्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उत्पादन वृद्धिका लागि खोजमूलक अनुसन्धानमा जोड दिने तथा गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने विषयलाई आगामी बजेटमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरिन् । “सरकारको लगानीमा सतप्रतिशत नाफा नदेखिए जनताको विश्वास हुँदैन । जलविद्युत् उत्पादनमा वृद्धि गर्नुपर्छ, विकाससँग सांसद जोडिनुपर्छ”, उनले भनिन्।

सांसद विष्णुबहादुर विश्वकर्माले सीमा अतिक्रमण नियन्त्रण नीति कार्यान्वयन गर्नुपर्ने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सांसद श्रीकृष्णप्रसाद अधिकारीले समाजवादोन्मुख अर्थतन्त्रका पक्षमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण हुन नसकेको आरोप लगाउँदै आगामी बजेटमा प्राथमिकता किटान गरी कार्यान्वयनमा जोड दिन अनुरोध गरे।

सांसद नरबहादुर विष्टले जनताको आशा र अपेक्षाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता नाआएको भनी दुःख व्यक्त गरे ।

सांसद सुमित्रा विसीले राष्ट्रियताको सवालमा सुरक्षाको विषय समेटिनु सकारात्मक भएको उल्लेख गर्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन गर्नुपर्ने धारणा राखे ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) भइरहेको छलफलमा बोल्ने सदस्यहरू बाँकी रहेकाले राष्ट्रियसभाको अर्को बैठक भोलि बुधबार १ बजेर १५ मिनेटमा बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।