राजनीति

राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ: कांग्रेस नेता केसी

३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलमा भाग लिँदै उहाँले सङ्कटापन्न आर्थिक अवस्थालाई उकास्ने गरी आगामी बजेटमा ध्यान दिन सुझाव दिए।

सांसद केसीले बजेटका सिद्धान्त सकारात्मक भएपनि प्राथमिकता अझ स्पष्ट पार्नुपर्ने सरकारलाई सुझाव दिए । उनले भने, “राष्ट्रिय राजस्वलाई मितव्ययी बनाउन सरकारसँगै संसद् पनि जिम्मेवार हुनुपर्छ । राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न अर्थमन्त्रीले साहस गर्नुपर्छ ।”

सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दै गएको बताउँदै नेता केसीले सामान्य प्रशासन खर्च धान्न र ऋण तिर्नका लागि ऋण लिनुपर्ने बाध्यता हटाउनुपर्ने बताए । “पुजिँगत खर्च निकै कम भएको सन्दर्भमा आगामी बजेटमा त्यसमा पनि ध्यान दिनुपर्छ”, उनले भने ।

सांसद केसीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत विषयमा उचित बजेट व्यवस्थाका लागि विशेष ध्यान दिन सुझाव दिए । सरकारले शिक्षक महासङ्घसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।