प्रदेश 2

जलेश्वर अस्पतालमा औषधि अभाव भएपछी उपचारमा समस्या

१ जेठ, जलेश्वर। जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा.विकास साहले बताए ।

दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै उनले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका छन् ।

मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेको जानकारी दिँदै उनले इमर्जेन्सी सेवा पनि प्रभावित बन्ने परिस्थिति उत्पन्न भएको दुखेसो गरे ।