समाचार

सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व हुन्छ: मन्त्री खड्का

१ जेठ,काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताएका छन् । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आज यहाँ आयोजित ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उनले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको जानकारी दिए।

“पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ,” उहाँले भन्नुभयो, “नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेको हुँदा यसलाई सुधार गर्न जरुरी छ । ”

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिँचाई क्षेत्रमा ठूलो हानी पु¥याएको बताए । सिँचाइले किसानलाई धेरै वाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पु¥याउने उहाँको भनाइ थियो । उर्जामन्त्री खड्काले सरकारले विस २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पु¥याउने उल्लेख गरे । उनले भने “सिँचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ । ”

सम्मेलनमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दैे राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने बताए । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले पानीको सही सदुपयोगमार्फत कृषि उत्पादकत्व बढाउनका लागि कृषि मन्त्रालय र सिँचाई विभागको थप समन्वयको आवश्यकता औँल्याउँदै सिँचाइ योग्य जमिनमा कृषिखेती नै प्रवद्र्धन गरिनुपर्छ भने ।

जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले सम्मेलनमा सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जलस्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्नेबारे आवश्यक छलफल हुने जानकारी दिए ।