१ जेठ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाराइने विश्वास दिलाए ।
भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।