२ जेठ, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयक पास गरेको छ। समितिको आज शुक्रवार बसेको बैठकले कुलिङ पिरियड २ वर्ष राख्ने सहमति गरेपछि विधेयक पास भएको हो।
विधेयकमा निजामती कर्मचारीका अतिरिक्त सचिव राख्ने लगायतका विषयमा पनि सहमति जुटेको छ । यस अघि यस विषयमा माओवादी केन्द्रले असहमति जानेको थियो। कर्मचारीमा सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव रहनेछन् । अतिरिक्त सचिव तेह्रौँ तहको कर्मचारी हुनेछन् । १४ औँ तहमा सचिव र १५ औँ तहमा मुख्य सचिव रहन्छन् । यी तीन पद राजपत्राङ्कित विशिष्ट पद अन्तर्गत रहने छन् ।
पारित गरिएको विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष राखिएको छ । यसअघि ५८ वर्ष थियो भने २ वर्ष थप गरिएको हो।