आर्थिक

कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मस्र्याङ्दीमा लगानी सम्झौता

२ जेठ, काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहँु जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८२ बैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एम. ए. पावर प्रा. लि.का अध्यक्ष श्री अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत श्री क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

स्वपुँजी लगानी तर्फ श्री अनुप आचार्य, श्री हरिबाबु न्यौपाने र श्री दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए। यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने अवधी २०८६ साल बैशाख २२ रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताए। आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको रहने छ ।