समाचार

कानुन विपरीत वैदेशिक रोजगारसम्बन्धी कार्य गर्नेलाई कारबाही हुन्छ: महानिर्देशक भट्टराई

२ जेठ, काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने ट्राभल टिकेटिङ्ग एजेन्ट, शैक्षिक परार्मश केन्द्रलगायतलाई कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारसम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । वैदेशिक रोजगार व्यवसायीबाहेक अन्य संस्था वा व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन गरेको विषय, राहदानी सङ्कलन गर्ने र रोजगारमा पठाइदिने भनी रकम लिएको सम्बन्धमा प्राप्त उजुरीमाथि तत्काल अनुगमन गरी कारबाहीे अघि बढाइने बताए । 

आफ्नो कार्यअवधिको कार्यविवरण तथा विभागका आगामी योजनाबारे जानकारी दिँदै महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत उद्धार, अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउन योजनाबद्ध रूपमा कदम चालिने बताए। “कानुन विपरीत वैदेशिक रोजगारसम्बन्धी कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ”, उनले भने । 

उनका अनुसार उपत्यकाभित्रका इजाजतपत्र प्राप्त संस्थाको अनुगमनलाई थप व्यवस्थित बनाउन अनुगमन स्वीकृतिको ढाँचा तर्जुमा गरिनेछ । उजुरीको संवेदनशीलताका आधारमा आकस्मिक रूपमा अनुगमन टोली परिचालन गरिने उनले उल्लेख गरे । 

विभागद्वारा सम्पादन गरिने सेवा प्रवाहलाई सरल र सहज बनाउन आफ्नो योजनाबारे कार्यक्रममा महानिर्देशक भट्टराईले जानकारी दिए । “नागरिक एपमा स्वीकृतिको स्टिकर र वैदेशिक रोजगारीका विज्ञापन मात्र देखिने अवस्था रहेको हुँदा यस प्रणालीलाई नागरिक एप तथा राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने विभागको योजना छ । यसबाट सेवाग्राहीले पटकैपिच्छे आफ्नो विवरण भरिरहनुपर्ने बाध्यता अन्त्य हुने विभागको विश्वास छ”, उनले भने ।

महानिर्देशक भट्टराईले श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क परमिट अन द सेम डे’ को मान्यताअनुसार अनलाइन फारम भरेको दिन स्वीकृत गर्न विभाग प्रतिबद्ध रहेको बताए । ताहाचलस्थित विभागले श्रम स्वीकृति, नीतिगत, नियमनकारी, प्रवर्धनात्मक तथा अनुसन्धानात्मक र उद्धार तथा राहत समन्वयसम्बन्धी कार्य गर्दै आएको छ ।