२ जेठ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गरेका छन् ।
नेपाल निर्यात व्यवसायी महासंघ (फिन) को पाँचौँ वार्षिक साधारण सभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्धन आवश्यक रहेको बताए ।
उनले नेपाली उत्पादनहरू जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तरराष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवर्धनमा सहयोग गर्ने गरि बजेटमा सम्बोधन हुनु पर्ने बताए ।
यस्तै अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरि खनिजजन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिए । “हामीले लामो समय देखि खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौं । एकदुई पटकको बजेटमा त्यो विषय आयो पनि । तर कार्यान्वयन भएन् । वातावरणमा प्रतिकुल असर नपर्ने गरि हामीसंग भएको खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसंगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकताा राख्न आग्रह गर्दछु ” उनले भने ।
यस्तै उनले हरेक दुई वर्षमा उद्योगी व्यवसायीहरुलाई दिइने “सिआइपी” दिन ढिला भएको उल्लेख गर्दै सिआइपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गरे ।
निर्यात प्रवर्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघहरूसँग सधैं सहकार्य गनेृ धारणा राखे । अध्यक्ष ढकालले निर्यात प्रवर्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासंघले पहल गरिरहेको समेत बताए ।