३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विप्रेषणका नाममा आइरहेको रकम के हो ? भनी सरकारले अध्ययन गर्नुपर्ने बताउँदै ‘फाइनान्सियल टास्क फोर्सको खैरो सूची (ग्रे लिस्ट) मा नेपाल परेको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा विप्रेषणबाट नेपाल भित्रिने रकम त कारण होइन भनी अध्ययन, अनुसन्धान गर्नुपर्ने अवस्था देखिएकाले यसतर्फ उनले अर्थशास्त्रीको ध्यानाकर्षण गराए ।
गभर्नर नियुक्तिका विषयमा संविधान र कानुन मिचिएको भन्दै नेता कोइरालाले कुशासन, दण्डहीनता, बेरोजगारी वृद्धि भइरहँदा सरकारले यसको न्यूनीकरण गर्नेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राखे । धार्मिक, आध्यात्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपालमा रोजगारी सृजना गर्न सकिने जनाउँदै उनले यसतर्फ सरकारले विशेष योजना बनाउनुपर्नेमा जोड दिए । प्रजातान्त्रीक विचार समाजको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।