सामाजिक सञ्जाल

हितेंद्र शाक्यलाई “कर्ममा अडिग रहनुहोस्” भन्दै प्रधानमन्त्रीका सल्लाहकार रिमालको सुझाव तर, कमेन्टमा गालीको वर्षा 

४ जेठ, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बलेको बत्तीमुनि बसेर सामाजिक सञ्जालमा पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाउन खोजिएको बताएका छन्।  उनले आज सामाजिक सञ्जालमार्फत विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सुझाव दिँदै यस्तो बताएका हुन्। 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले समाजलाई कामको प्रतिफल दिनेभन्दा समाजमा न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको आरोप समेत लगाएका छन्।  उनले शाक्यलाई सजग हुन सुझाव दिँदै लेखेका छन्,’ सजग रहनुहोला, बलेको बत्ती मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो।’

रिमाल सुझाव दिँदै थप लेख्छन्,’ देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’

यस्तो अवस्थामा जति नै राम्रो काम गरे पनि जस पाउन नसकिने रिमालको भनाइ छ।  उनले दुनियाँले निर्देशक शाक्यलाई कन्टेन्ट बनाउन लागेको भन्दै सतर्क गराएका छन् । उनले लेखेका  छन्,’कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।’

रिमालले यस्तो धारणा राखेपछि सामाजिक सञ्जालमा भने अधिकांश नेगेटिभ कमेन्ट आएका छन्।  केही एमाले समर्थक बाहेक धेरैले गालीको वर्षा गरेका हुन्।