अन्तर्राष्ट्रिय

पोर्चुगलमा आइतबार मध्यावधि निर्वाचन, मध्य–दक्षिणपन्थीको अग्रता

४ जेठ, काठमाडौं । पोर्चुगलमा तीन वर्षयता तेस्रो पटक हुन लागेको आमनिर्वाचनका लागि आइतबार मतदाताले आफ्नो मन परेको पार्टीलाई सरकारको नेतृत्वका लागि मतदान गर्नेछन् भने निर्बाचनमा प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पर्याप्त बहुमत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।

अन्तिम जनमत सर्वेक्षणले उनको मध्य दक्षिणपन्थी डेमोक्रेटिक एलायन्स (एडी) सोसलिस्ट पार्टी (पीएस) भन्दा अगाडि रहेको देखाएको छ र उनले सन् २०२४ को चुनावमा भन्दा बढी मत प्राप्त गर्ने सम्भावना छ ।

पोर्चुगलको २३० सदस्यीय संसद्मा बहुमत प्राप्त गर्न आवश्यक पर्ने ११६ सिट भने कुनै पनि पार्टीलाई प्राप्त नहुने अनुमान गरिएको छ ।

अति दक्षिणपन्थी चेगा पार्टी फेरि एक पटक तेस्रो स्थान हासिल गर्ने बाटोमा छ । यो स्थानले उसलाई सरकार गठनका लागि सम्भावित किङमेकर बनाउँने आँकलन गरिएको छ यद्यपि, मोन्टेनेग्रोले पपुलिस्ट आन्दोलनसँग शासन गर्न इन्कार गरेका छन्।

करिब एक करोड जनसङ्ख्या रहेको युरोपेली सङ्घ (इयू) सदस्य राष्ट्रमा निर्वाचन हुन लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नेटो सहयोगीहरूको सुरक्षा नगर्न सक्ने चेतावनी दिएपछि इयू राष्ट्रहरूले आफ्नो प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेका छन् ।

शुक्रबार लिस्बनमा आयोजित अन्तिम ¥यालीमा मोन्टेनेग्रोले पोर्चुगलले यो ’भूराजनीतिक उथलपुथल’को सामना गर्न सक्षम बनाउनका लागि मतदातालाई आफूलाई बलियो जनादेश दिन आग्रह गरेका छन्। उनले भने, “हामीले आफ्नो भूमिका स्वदेशमा गर्नुपर्छ र हामीले विदेशमा, युरोप र विश्वमा समाधानको हिस्सा बन्नुपर्छ। त्यसका लागि हामीलाई बलियो सरकार चाहिएको छ।”

उत्तरी शहर एस्पिन्होमा मतदान गरेपछि मोन्टेनेग्रोले चुनावले अझ बढी स्थिरता ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन्। स्थानीय परिषद्मा कार्यरत ६३ वर्षीया मारिया लोपेजले यो मतदानले अर्कै परिणाम ल्याउँछ भन्नेमा आफू आशावादी नभएको बताए ।

“यो कठिन हुनेछ। दुर्भाग्यको कुरा मतदानले सरकारको संरचना परिवर्तन गर्नेछ भन्ने मलाई लाग्दैन,” लिस्बनको दक्षिणमा रहेको अल्माडा शहरमा मतदान गर्दै उनले भने ।

– कठोर आप्रवासन नियम–

गत मार्चमा, ५२ वर्षीय वकिल मोन्टेनेग्रोले संसदीय विश्वासको मत गुमाएपछि आइतबारको निर्वाचनको घोषणा गरिएको थियो ।कन्सल्टेन्सी व्यवसायबाट उत्पन्न स्वार्थको द्वन्द्वको आरोप लागेपछि उनले आफैंले विश्वासको मतको प्रस्ताव गरेका थिए।

मोन्टेनेग्रोले कन्सल्टेन्सी संचालनमा आफू संलग्न नभएको भन्दै गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । उनले भने, “कम्पनीसँग धेरै ग्राहकहरू थिए जसले सरकारी सम्झौताहरू गर्छन् ।” अर्थशास्त्री तथा समाजवादी नेता ४८ वर्षीय पेड्रो नुनो सान्तोसले मोन्टेनेग्रोले संसदीय जाँचमा आफ्नो फर्मको बारेमा ‘आफूलाई व्याख्या गर्नबाट बच्न’ चुनाव गराएको आरोप लगाएका छन्।

तर लिस्बनको क्याथोलिक युनिभर्सिटीले गरेको चुनावपूर्वको अन्तिम जनमत सर्वेक्षणअनुसार पाँचमध्ये एक जना मतदाताले मात्र यो मुद्दालाई ‘अति महत्वपूर्ण’ ठान्छन् भने २९ प्रतिशत मतदाताले यसको कुनै महत्व नरहेको बताएका छन् ।

युनिभर्सिटी अफ लिस्बनका राजनीतिशास्त्री फेलिपा राइमुन्डोका अनुसार पोर्चुगाली मतदातामा स्वार्थको टकरावका घटनामा ‘निश्चित सहनशीलता’ छ ।