अन्तर्राष्ट्रिय

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

५ जेठ, काठमाडौं। गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सेनाले आक्रमण तीव्र पारेको गाजाका उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले गाजाको मुख्य सहर र वरपर निरन्तर आक्रमणहरू भएको र खान युनिसमा ११ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताए।

जबलिया सहरको पश्चिममा रहेको बजार नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको उनले बताए।

मध्य गाजाको नुसेइराटस्थित पसलमा भएको हवाई आक्रमणमा एउटै परिवारका तीन जनाको मृत्यु भएको र उत्तरी गाजा सहरको एउटा पसलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ । बेइत लाहियाको अस्पतालमा पनि मृत्युको खबर आएको तर निरन्तर भएको बम विष्फोटका कारण शव उद्धार हुन नसकेको बासलले बताए ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनालाई घेराबन्दी गरेको आरोप लगाउदै अस्पताललाई सेवा प्रवाहमा असर पारी सेवा ठप्प पार्न बाध्य पारेको जनाइएको छ ।

इजरायली सेनाले सोमबार आफ्नो पछिल्लो तीव्र अभियान ‘सम्पूर्ण गाजा पट्टीमा सञ्चालन’ गरिरहेको बताएको छ ।