५ जेठ, झापा। जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार) सहित तीनवटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीले जाँचका क्रममा भन्सार छली गरी ल्याइएको पाएसँगै आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए ।
मेची भन्सार कार्यालयले ती सामान अवैध नभएको दाबी गरेको छ । भन्सार तिरेर नियमसङ्गत ढङ्गले ती कन्टेनर भित्रिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले बताए। उनले कन्टेनर भारतबाट नभई चीनबाट कृषि औजार लिएर आएको बताए।