समाचार

फर्जी चिठ्ठी काटेर रेशम थुन्ने महिमान विष्ट धरौटीमा छुटे

५ जेठ, काठमाडौँ। फर्जी पुर्जी काटेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्टलाई  एक लाख धरौटीमा  छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।  

उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई वैशाख १७ गते पक्राउ गरेको थियो। 

विष्टले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो।

महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो।