६ जेठ, काठमाडौँ । नेपाली काँग्रेसको भागमा परेको भनिएको गभर्नर आजको मन्त्री परिषद् बैठकले नियुक्त गरेको छ । नेपाली काँग्रेसको समर्थनमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वसँग पछिल्लो पटक काँग्रेस सभापति शेरबहादुर देउवा र सिङ्गो काँग्रेस रुष्ट भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गलेर गभर्नर नियुक्तिमा बाटो खोलेको टिप्पणी गरिएको छ ।
कामु गभर्नर निलम ढुङ्गानाबाट काँग्रेसबाट गभर्नर नियुक्तिका लागि अघि सारिएका डा गुणकर भट्टको राजीनामा स्वीकृत नगरी अल्झाएर राखिएको र डा विश्व पौडेललाई पनि विभिन्न मुद्धा मामिला गरी गभर्नर नियुक्तिबाट वञ्चित गर्न खोजिँदै काँग्रेसलाई रणनीतिक रूपमा बदनाम गर्न खोजिएको भन्दै सरकार ढाल्ने सम्मको कुरा मिडियामा आएपछि प्रधानमन्त्री केपी शर्मा ओली डराएर गभर्नर नियुक्तिका लागि बाटो खोलेको अर्थ राजनीतिका जानकारहरूले टिप्पणी गरेका छन् ।
आज सर्वोच्च अदालतको आदेशले विश्व पौडेललाई गभर्नर बनाउन बाटो खोलेर गभर्नर बनाउन सरकारलाई सहज भए पनि काँग्रेस–एमालेको आन्तरिक रणनीतिक प्रतिस्पर्धाका कारण गभर्नर नियुक्ति पेचिलो बनेको विश्लेषकहरूको ठम्याई छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले भने गभर्नर नियुक्तिमा समस्या नभएको दाबी मिडियाहरूमा बताएका थिए । जे होस् लामो समयसम्म अन्योलग्रस्त रहेको गभर्नर नियुक्ति प्रक्रिया अन्त्य हुनु मुलुकका लागि राम्रो हो ।