राजनीति

नेसपा (नयाँ शक्ति)को जिल्ला कमिटी नै माओवादी केन्द्रमा मिसियो

७ जेठ, रुकुम। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का जिल्ला स्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका जितमान पुनसहितका जिल्लास्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरीसमेत रहेका पुनलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीमा स्वागत गरे । त्यसैगरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष दाहालले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथ्बीहादुर घर्तीलगायत छन् ।

अध्यक्ष दाहालले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे ।